Go to content

२०२४ एनएसडब्लु (NSW) स्थानीय सरकार निर्वाचनहरू

एनएसडब्लु स्थानीय सरकार निर्वाचन शनिवार, १४ सेप्टेम्बर २०२४ मा हुँदैछ। मतदान गर्न अनिवार्य छ।

On this page

स्थानीय सरकार निर्वाचनहरू बारे

न्यु साउथ वेल्स १२८ स्थानीय सरकार क्षेत्रहरूमा बाँडिएको छ। प्रत्येक स्थानीय सरकार क्षेत्र एउटा काउन्सिलद्वारा व्यवस्थित गरिन्छ र प्रत्येक क्षेत्रका मतदाताहरूले काउन्सिलमा उनीहरूको प्रतिनिधित्व गर्न मानिसहरूलाई भोट दिएर छान्छन्। काउन्सिलका निर्वाचित सदस्यहरूलाई काउन्सिलर भनिन्छ भने काउन्सिलका प्रमुखलाई मेयर भनिन्छ।

कतिपय स्थानीय सरकार क्षेत्रहरूलाई वडामा विभाजन गरिएको छ । यदि तपाईँ यस्तो कुनै विभाजित काउन्सिल क्षेत्रमा बस्नुहुन्छ भने, तपाईँको नामाङ्कन भएको वडाका लागि मात्र तपाईँले भोट हाल्नु हुनेछ।

केही क्षेत्रका मतदाताहरूले मेयर चुन्न पनि भोट हाल्छन्। अरू क्षेत्रमा, निर्वाचित काउन्सिलरहरूले मेयर चुन्छन् ।

काउन्सिलहरूको भूमिका

न्यु साउथ वेल्समा स्थानीय काउन्सिलहरूको भूमिका भनेको नगर वा स्थानीय समुदायको आवश्यकताहरू पुरा गर्नु हो।

काउन्सिलको दायित्वहरू:

  • भूमि योजना र पुनर्वर्गीकरण (रिजोनिङ) निर्णयहरू
  • स्थानीय सडकहरू र जल पूर्वाधार
  • पुस्तकालय, खेलकुद सुविधाहरू र पार्कहरू
  • घरेलु फोहोर तथा पुन: प्रयोग गर्न मिल्ने रिसाइक्लिङ सामानहरूको सङ्कलन।

मैले भोट हाल्नुपर्छ भनेर कसरी थाहा पाउने? (मतदाता नामाङ्कन)

यदि तपाईँ १८ वर्ष वा सोभन्दा बढी उमेरको हुनुहुन्छ र एक अस्ट्रेलियन नागरिक हुनुहुन्छ भने तपाईँले भोट हाल्न मतदाता नामावलीमा आफ्नो नाम सूचिकृत गर्नै पर्छ।

भोट हाल्नु अनिवार्य छ। मतदानले तपाईँलाई सङ्घीय, राज्य र स्थानीय सरकारमा तपाईँको प्रतिनिधित्व कसले गर्छ भनेर छान्न सहयोग गर्छ।

तपाईँले मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्नुहुन्छ, यदि तपाईँ:

  • अस्ट्रेलियन नागरिक हुनुहुन्छ भने
  • १६ वर्ष वा सोभन्दा बढी उमेरको हुनुहुन्छ भने (तर तपाईँको उमेर १८ वर्ष नपुगेसम्म तपाईँले भोट हाल्न पाउनुहुन्न)
  • अहिले बसिरहेको ठेगानामा कम्तीमा पनि एक महिनासम्म बसिसक्नु भएको छ भने। 

तपाईँले अस्ट्रेलियन इलेक्टोरल कमिसनको वेबसाइटमा गएर आफ्नो नाम मतदाता नामावलीमा नामाङ्कन वा अद्यावधिक गर्न सक्नुहुन्छ अथवा कागजको फारम भर्न सक्नुहुन्छ।

एक पटक तपाईँको नामाङ्कन पूरा भएपछिमतदाता नामावलीमा तपाईँको नाम जसरी देखिनेछ  तपाईँ जुन सङ्घीय निर्वाचन विभाजनराज्य निर्वाचन जिल्ला  स्थानीय सरकार क्षेत्रमा नामाङ्कित हुनुहुन्छत्यसको पुष्टि हुने प्रमाण प्राप्त गर्नुहुनेछ।

मतदानका विकल्पहरू

सन् २०२४ एनएसडब्लु स्थानीय सरकार निर्वाचनमा मतदानका केही विकल्पहरू छन्।

यी निर्वाचनमा भोट हाल्न, तपाईँ:

  • निर्वाचनको दिनभन्दा अगाडी नै स्वयं तोकिएको मतदान केन्द्रमा जान सक्नुहुन्छ (यदि योग्य हुनुहुन्छ भने), वा
  • निर्वाचनको दिन स्वयं मतदान केन्द्रमा उपस्थित हुन सक्नु हुन्छ, वा
  • हुलाक मार्फत मतदान गर्नु सक्नु हुन्छ, (यदि योग्य हुनुहुन्छ भने)

तपाईंले निर्वाचनको दिन वा उक्त दिनभन्दा अघि कहाँ मतदान गर्न सक्नुहुन्छ भनेर थाहा पाउन आफ्नो ठेगाना यहाँ हालेर हेर्नुहोस्। मतदान केन्द्रहरूको सूचि र ती प्रत्येक खुल्ने समय तथा अपाङ्गता मैत्री सम्बन्धी जानकारीका लागि तपाईँ आफू मतदानका लागि नामाङ्कन भएको ठेगाना हालेर हेर्नुहोस्।

यदि तपाईँ दृष्टिविहीन वा कमजोर दृष्टि भएको व्यक्ति हुनुहुन्छ भने, तपाईँले १३०० २४८ ६८३ मा फोन गरेर अपरेटर असिस्टेड टेलिफोन भोटिङ प्रयोग गरेर  नामाङ्कन तथा मतदान गर्न सक्नु हुन्छ। 

तपाईँले यी निर्वाचनहरूमा एकपटक मात्र भोट हाल्न सक्नु हुन्छ।

स्थानीय काउन्सिल निर्वाचनहरूका लागि मतपत्रहरू

भोट हाल्ने समय आएपछि, तपाईँले भोट हाल्न नामाङ्कन गरेको काउन्सिल क्षेत्र वा वडाका आधारमा, तपाईँलाई एक वा सोभन्दा बढी मतपत्रहरू पुरा गर्न दिइनेछ।

सबै मतदाताहरूलाई काउन्सिलर चुन्ने मतपत्रहरू पुरा गर्न दिइनेछ। तपाईँले मेयर छान्ने, जनमत सङ्ग्रह सम्बन्धी र/वा सर्वेक्षण गर्ने पत्र पनि प्राप्त गर्न सक्नु हुन्छ।

प्रत्येक मतपत्रमा दिइएका निर्देशनहरू राम्ररी पढ्नुहोस्। यी निर्देशनहरू अङ्ग्रेजीमा लेखिएका छन्।
 
 याद राख्नुहोस्, यदि तपाईँ प्रत्यक्ष उपस्थित भएर भोट हाल्दै हुनुहुन्छ र मद्दत चाहिन्छ भने, निर्वाचन कर्मचारीलाई आफ्नो लागि टेलिफोन दोभासे मिलाइदिन भन्नुहोस्। तपाईँले आफूलाई मतदान निर्देशनहरू बुझ्न सजिलो होस् भन्नका लागि सहयोग गर्ने एउटा साथी, पारिवारिक सदस्य वा स्याहारकर्ता पनि सँगै ल्याउन सक्नुहुनेछ।

काउन्सिलर

केही काउन्सिलहरू वडा भनिने स-साना भागहरूमा विभाजन गरिएका छन्। यदि तपाईँ यस्तै कुनै काउन्सिलमा बस्नुहुन्छ भने, तपाईँले आफू बस्ने वडाको प्रतिनिधित्व गर्न काउन्सिलरहरूलाई भोट दिनु हुनेछ, जो काउन्सिलमा अरू वडाबाट चुनिएर आएका काउन्सिलरहरूसँग जोडिनेछन्।

केही काउन्सिलहरूमा भने, मतपत्रको देब्रेबाट दाहिने एउटा बाक्लो धर्को कोरिएको हुनेछ, जहाँ भोट हाल्ने चतुर्भुज कोठा उक्त रेखाको तल र माथि दुवै तिर हुन्छन्। यी मतपत्रहरूमा तपाईँले आफ्नो प्राथमिकताहरूमा उक्त लाइनको माथि वा तल जता भए पनि छान्नु पर्छ। निर्देशनहरू राम्ररी पढ्नुहोस्।

मेयर

केही काउन्सिलहरूमा मेयरको चयन निर्वाचन पछि काउन्सिलरहरूले गर्छन्।

अन्य काउन्सिलहरूमा भने मेयरहरू मतदाताहरूबाट प्रत्यक्ष निर्वाचित हुन्छन्। यस्ता काउन्सिलहरूका मतदाताहरूले मेयर चुन्ने मतपत्र पनि प्राप्त गर्नेछन्।

जनमत सङ्ग्रह वा सर्वेक्षण

केही काउन्सिलहरूले सम्भावित रूपमा काउन्सिलको संरचना परिवर्तन गर्न जनमत सङ्ग्रह वा तपाईँको समुदायमा रहेको समस्याका बारे सर्वेक्षण पनि गर्न सक्छन्। जनमत सङ्ग्रह वा सर्वेक्षणमा मत जाहेर गर्न, निर्देशनहरूको पालना गर्दै ‘YES’ (हुन्छ) वा‘NO’ (हुँदैन) माचिन्ह लगाउनुहोस्।